नुवाकाेट देविघाटमा अवस्थित भैरवतीर्थ र भैरवेश्वर शिवलिङ्गको महिमा (स्कन्दपुराणकाे हिमवत् खण्डअन्तर्गत अध्याय ११५ )



भैरवतीर्थ भैरवेश्वर शिवलिङ्गको महिमा

स्कन्दपुराणकाे हिमवत् खण्डअन्तर्गत अध्याय ११५ मा नुवाकाेट जिल्ला देविघाटमा अवस्थित भैरवतीर्थ र भैरवेश्वर शिवलिङ्गको महिमा उल्लेख गरीएकाे छ । ( याे स्थान निलकूटपर्वत मा रहेकाे उल्लेख)

जसमा कुमारजिले विरूपाक्ष गण्डकीको सङ्गममा स्नान गरेर गण्डकीकै तटमा रहेको भैरवेश्वर महादेव भएको क्षेत्रमा गएकाे र त्यहाँ दुई नदीको सङ्गममा रहेको भैरवनामक महातीर्थमा स्नान गरेर जलमय महालिङ्गको माघशुक्ल चतुर्दशीका दिन भक्तिपूर्वक पूजा गरी जाग्राम बसेकाे नेमुनिसित त्यस तीर्थ र लिङ्गको माहात्म्य सोधेकाे उल्लेख छ ।

विरूपाक्षले साेधे - हे ब्रह्मज्ञ । अब म हजुरबाट जलमय मूर्ति भएका शिवलिङ्गको र यस तीर्थको माहात्म्य
सुन्न चाहन्छु । हे प्रभु । यस लिङ्गलाई कसले प्रकाशमा ल्याएको थियो ? यस तीर्थमा स्नान गरेर कसले के फल
पायो ? यस लिङ्गको पूजा गरेर को मुक्त भयो ? सबै मलाई बताउनुहोस् ।

नेमुनिले भन्नुभयो- हे विरूपाक्ष । अघि संवर्तक नाम गरेका रुद्रले भैरवको रूप लिएर सम्पूर्ण प्राणीहरूको संहार गर्नुभएको थियो र पृथ्वीलाई सम्पूर्ण प्राणीहरूले रहित तुल्याएर हिमालयमा बस्नका लागि यहाँ आउनुभयो । भैरव पनि यस तीर्थलाई अत्यन्त पुण्यदायक र शिवस्वरूप ठानेर यसै जलमा बस्नुभयो । दिव्य हजार वर्ष पुगेपछि त्यहाँ ब्रह्माजी आउनुभयो र भक्तिपूर्वक जलमा स्नान गरेर उहाँले भैरवको स्तुति गर्दै वर माग्नुभयो । यिनै भैरवबाट वर प्राप्त गरेर ब्रह्माजीले यो पृथ्वीमा सबैतिर चार किसिमका प्राणीहरूको सृष्टि गर्नुभयो। त्यसको तीस हजार वर्षपछि यो तीर्थ र विशेष गरी भैरवरूपधारी भगवान् शङ्करको अनुग्रहबाट कुनै व्यक्ति मुक्त भएको थियो ।

फेरी यस तिर्थकाे महात्म्यका सन्दर्भमा अर्काे कथा नेमुनिले विरूपाक्षलाइ भनेका छन् ।

नेमुनिले भन्नुभयो ःहे विरूपाक्ष ! अघि कुनै एकाक्ष नाम गरेकाे वैश्य ले अरू मानिसले देवतालाई चढाएको बत्ती क्रीडाका लागि आधा बत्ती चोरेको पापले गर्दा त्यो वैश्य अर्को जन्ममा एउटा आँखाबाट वञ्चित भयो । पूर्वजन्मको कर्मको फलले गर्दा एउटा आँखो नभएको थिएन ।एउय मात्र आँखा भएको त्यस वैश्यलाई दुनियाँले निन्दा गरेकाले त्यो अत्यन्त दुःखित थियो। एकदिन धर्मशर्मा नामक विद्वानलाइ उसले आफ्नो एउय मात्र आँखा हुनुको कारण सोध्यो । धर्मशर्माले दुःखबाट आत्तिएको त्यस व्यक्तिलाई कर्मविपाक शास्त्रको अध्ययन गरेर भन्नलागे।

धर्मशर्माले भने- तिमीले अरूले देवतालाई चढाएको बत्तीको आधा भाग चोरेका थियौ, त्यसैले तिमी एउटा आँखा नभएको भयौ। अघि धर्म होस् वा पाप, जे गरेको छ, त्यो यसै जन्ममा अवश्य भोग गर्नुपर्छ। हे वैश्य ! हिमालयको खाेँचमा रहेको नेपाल नामको पुण्यभूमि छ। धेरै तीर्थ भएको त्यस स्थलमा गएर तिमीले तीर्थदर्शन गर। हे वैश्य ! त्यसभन्दा उत्तरपट्टि रहेको भैरवनामकाे तीर्थमा तिमीले स्नान गर र साँझमा बत्ती बाल। स्नान गरेर दियो बालेपछि जलमूर्ति भगवान् शङ्करले तिमीलाई वर दिनुहुनेछ ।

नेमुनिले भन्नुभयो – बुद्धिमान् त्यो वैश्य यस्तो सुन्नासाथ स्नान गर्न घरबाट तुरुन्त निस्कियो र यसै ठाउँमा आइपुग्यो। अघिको कुरा सम्झिएर त्यसले फेरि भक्तिपूर्वक प्रसन्न हुँदै यस तीर्थमा स्नान गयो। मनमनै शिवजीको मन्त्र जप्दै भक्तिपुर्वक जलमय मूर्ति भएका भगवान् शङ्करको पूजा गर्याे। त्यस वैश्यले साँझ त्यस ठाउँमा गएर भगवान् शिवजीलाई लक्ष्य गरेर घिउले भिजाएको उज्यालो बत्ती बाल्यो । अनि प्रार्थना गर्न लाग्याे ।
"आत्मकल्याणका निमित्त म यो बत्ती भगवान् शङ्करलाई समर्पण गर्दछु, उहाँको पाउको आश्रय लिएर सेवा गर्न
पाऊँ।" यस्तो सङ्कल्प गरी तामाको दीयाेमा घिउ राखेर बत्ती बाल्यो र जलमूर्ति भगवान् शङ्करलाई समर्पण गरी
घुंडासम्म पानीमा प्रवेश गरेर मनमनै शिवजीको मन्त्र उच्चारण गर्दै उसले त्यहाँ बत्ती अर्पण गर्याे। त्यसपछि त्यहाँ रहेको गोही दौडिएर त्यो वैश्यतिर गइ त्यसको एउय गोडा समात्यो र उसलाई पानीभित्र लग्यो। वैश्यलाई गोहीले समातेपछि शिवजीका दूतहरू फूल वर्षा गर्दै त्यस ठाउँमा आइपुगे,आकाशमा नगराहरू बजे । शिवजीका दूतहरूले बाजा बजाएर गीत गाउँदै उसलाई पुष्पक विमानमा राखेर सम्पूर्ण मानिसहरूलाई देखाउँदै शिवलोकतिर लगे । त्यो वैश्य ,भगवान् शङ्करको भैरव अवतारको कृपाले गर्दा प्रमथगणहरूमा मुख्य भएर शिवजीको नजिकै बस्न पुग्यो। हे बाबु ! चैत्रपूर्णिमाको दिन जसले यस तीर्थमा स्नान गर्छ त्यो व्यक्ति सम्पूर्ण दुःखबाट मुक्त भएर भैरवको लोकमा जान्छ। अब तिमी यहाँबाट पूर्वतिर दुई कोस टाढा रहेको एकशृङ्ग नाम गरेको पर्वतशिखरमा जाऊ । भक्त बाणासुरलाई वर दिने महाप्रभु ब्रह्मेश्वर ब्रह्मतीर्थका साथ यहाँ बस्नुभएको छ। तिमी ब्रह्मतीर्थमा प्रसन्न भएर स्नान गर, त्यसपछि ब्रह्मेश्वर काे पूजा गर । त्यसपछि सम्पूर्ण पापबाट मुक्त भएरतिमीले ब्रह्मत्व पाउनेछौ । हे बुद्धिमान् विरूपाक्ष ! मैले तिमीलाई भैरवलिङ्ग र भैरवतीर्थको माहात्म्य सुनाएँ ।
त्यसपक्षि विरूपाक्षले भैरवतिर्थमा स्नान गरेकाले दिव्यदृष्टि प्राप्त गरे भन्ने उल्लेख छ ।

Comments

Popular posts from this blog

ईशावास्योपनिषद् / शुक्लयजुर्वेदकाे ४० अैां अध्याय ( Ishavashyopanishad / 40 th chapter of Shuklayajurveda. )

ब्रह्मज्ञान माला,श्री आदि शंकराचार्य द्वारा रचित //Brahmagyanmala Adi Shankaracharya//

स्कन्दपुराणकाे हिमवत्खण्ड अन्तर्गत नेपाल महिमा (Glory of Nepal in Himavatkhanda, Skandapurana )

संस्कृत अक्षर उत्पति / महेश्वर सुत्र/शिव सुत्र/ Origin of Sanskrit Letters/ Maheshwor Sutra/Shiva Sutra